के हो पितृदोष ?

कुण्डलीमा सूर्यसँग राहु वा केतुको मिलन भएको अवस्थालाई पितृदोष भन्ने गरिन्छ । यस दोषको कारण मानिसले दैनिक जीवनमा बाधा,कष्ट र पीडा भोग्नु पर्दछ । विवाहमा विलम्ब,विवाह पछिको सम्बन्धमा समस्या, समयमा काम नहुनु वा अन्तिममा आएर काम विग्रनु ,कुलतमा फस्नु, व्यवसाय परिवर्तन भईरहनु , नोकरीमा समस्या देखिरहनु, गर्भ वा गर्भधारणमा समस्या देखिनु , सुस्त मनस्थिति र दुर्वल बच्चाको जन्महुनु, जन्मिएका बालबच्चाहरु सबल नहुनु , निर्णय क्षमतामा कमी आउनु, रिसाहा तथा घमण्डी आदि पितृदोषबाट सिर्जना हुने समस्याहरु हुन् । जब कसैको जन्मकुण्डलीमा चन्द्रमा र सूर्य ग्रह पापी,निर्वल वा अरिष्ट ग्रहका साथमा वा अशुभ भावमा बसेको अवस्था हुन्छ, त्यस्तो मानिस पितृदोषको कुनै न कुनै समस्याबाट पीडित हुन्छ । जन्म कुण्डलीबाट लग्न,पञ्चम र नवम भावको स्वामी ग्रह पनि व्यक्तिको व्यक्तित्व विकास र उन्नति प्रगतिमा सहयोगी ग्रह हुन् । यिनैमध्ये कुनै ग्रह निर्वल छ भने आंशिक रूपमा पितृदोष नै मान्ने गरिन्छ । साधारणतया पितृदोष यसरी बन्दछन्। १. सूर्य र राहु वा केतुको मिलन, २. सूर्य, चन्द्रमा वा लग्नेशको त्रिकस्थानमा उपस्थिति, ३. पञ्चमेश र राहु वा केतुको मिलन, ४. भाग्येश र राहु वा केतुको मिलन, ५. सूर्य र शनिको एकआपसमा पूर्ण दृष्टि वा मिलन, ६. मङ्गल र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन, ७. मङ्गल र राहु वा केतुको एकआपसमा पूर्ण दृष्टि वा मिलन, ८. चन्द्रमा र राहु वा केतुको मिलन आदि....... जातकको कुण्डलीमा पितृदोष कसरी बन्छ? हाम्रो परिवारमा कुनै अग्रज तथा पूर्वजको असमायिक वा अकालमा मृत्यु हुँदा, मृत्यु भईसकेपछि मृत्युवरण गर्ने मानिसको विधि विधानले अन्तिम संस्कार भएन भने वा जीवित रहँदा उसले गरेका कुनै भाकल वा इच्छा पूर्ण हुन सकेन भने त्यस्ता मृतक मानिसको आत्मा उसको बसोबास भएको घर वा वंशजका बीचमा नै भौँतारिने गर्दछ । त्यसरी भौँतारिएका मृत पूर्वजहरूको अतृप्त आत्माले परिवारका सदस्यहरूलाई कष्टप्रदान गरी आफ्नो इच्छा पूर्ण गर्न दबाब दिइरहेको हुन्छ । यस्तो पितृ दोष व्यक्ति स्वयंले निद्रा,सपना वा अन्य कुनै प्रकारले थाहा पाएको स्थिति पनि हुन्छ भने कतिपयको जन्मकुण्डलीमा यस्ता समस्याहरू पितृदोषका रूपमा स्पष्ट देखिने पनि गर्दछ । शास्त्रमा उल्लेख अनुसार विधि पूर्वक गरिएको काजक्रियाबाट मात्र मृतात्माहरू मुक्त हुने गर्दछन् । जसको अन्तिम संस्कार विधिवतरुपमा सम्पन्न भएको हुँदैन, कुलमा सन्तानको अभाव अथवा सन्तान भए पनि शारीरिक, मानसिक वा वौद्धिक रूपमा कमजोर वा अशक्त हुन्छन् । कुनै व्यक्तिले पिताको हत्या गर्दछ, उनलाई अपमान गर्दछ वा कुनै किसिमले मानसिक तनावमा राख्ने प्रयास गर्दछ अथवा पिताको आत्मसम्मानमा ठेस पुग्ने कुनै क्रियाकलापमा संलग्न हुन्छन् भने छोराछोरीको सुखबाट बञ्चित हुनुपर्दछ । कसैको मरणपछि सन्ततिले क्रियाकर्म र वार्षिक श्राद्ध आदि गरिदिएनन् भने मृतकको आत्माले मुक्ति प्राप्त गर्न सक्दैनन् अथवा तिनको आत्मा अतृप्त रहने गर्दछ । अतः कसैको परिवारमा आफ्ना कुनै पूर्वजको अतृप्त आत्माको कारण बनेर उसको कुण्डलीमा पितृदोष उपस्थित भएको देखिन्छ । कुण्डलीमा या वंशजलाई पितृदोष भए के हुन्छ त ? कुनै मानिसको कुण्डलीमा पितृदोष देखिएको छ भने बिभिन्न समस्याहरु जीवनमा भोग्नु पर्दछ । १. घरमा प्राय सधैँ विवाद,झगडा भइरहन्छ । २. धन कमाउन बढि नै संघर्ष गर्नुपर्दछ । ३. कमाएको धन सम्पत्ती सहि ठाउँमा सदुपयोग हुँदैन । ४. रोजगारी वा व्यवसायमा समस्या हुन्छ। ५. उन्नति प्रगति, बढुवा, स्थायित्व आदिमा समस्या देखिरहन्छ । ६. काम अन्तिम घडीमा बिग्रिरहन्छ । ७.मिहेनत र परिश्रमको फल ढिलो मात्र प्राप्त हुन्छ । ८. रोगव्याधिको चपेटामा परिरहन्छन् । ९. बोटबिरुवा र फूल समेत फस्टाउँदैनन् । १०. घरमा पालेका पशु वा पंक्षीको वंशवृद्धिमा पनि समस्या देखिन्छ । ११. छाना वा भित्तामा पीपल वा अन्य बिरुवाहरू उम्रन थाल्दछन् । १२. क्षमता अनुसारको नोकरी पाउँदैन । १३. उचित समयमा बढुवा वा ग्रेडिङमा समस्या देखिन्छ । १४. जीवनको अधिकांश समय हातमुख जोर्नका लागि मात्र खर्चनु पर्ने परिस्थिति हुन्छ। १५. आफूले सम्पत्ती जोड्नु त कता हो कता ? बरु भौतिक सम्पत्ती घट्दै जान्छ । यस्ता प्रकारका समस्या पितृदोष भएका मानिसहरुमा देखिने समस्या हुन् । तर माथि बताइएका समस्याहरूमध्ये अधिकांश समस्या तपाईको जीवनमा भोग्नु परिरहेको छ भने तपाईँले तलका उपायहरू अवलम्बन गर्न सक्नुहुनेछ । पितृदोषको निवारण पितृदोषलाई न्यूनीकरण वा निवारण गर्न सकिन्छ । तर डिजिटल पुस्ताका मानिसहरूको व्यस्त जीवनचर्या, भौतिक जगतका सुखसुविधा र विलासिता प्रतिको मोह, श्रद्धा, निष्ठा, समर्पणभाव, आस्था र आध्यात्मिक लगावमा कमी हुनाले यी उपायको अवलम्बन गरी आफूले व्यहोरिरहेका समस्याहरु निवारण गर्न चासो दिएका हुदैनन् । १. प्रत्येक दिन विहान स्नान गरिसकेपछि आफ्ना पितृको नाम उच्चारण गरि दैनिक तर्पण गर्नुपर्छ। २. अभिभावकहरुको जानी वा नजानी अपमान गर्नु हुँदैन । यदि कसैलाई जानी वा नजानी अपमान गरिएको छ वा उनको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको छ भने तिनीहरुसँग क्षमायाचना गर्नुपर्दछ । पितृहरूसँग क्षमा माग्दा कुण्डलीमा रहेको वृहस्पति ग्रह बलियो हुन्छ, जसले सामाजिक सम्मान, वंशवृद्धि र निर्णय क्षमतामा सकारात्मक फल प्रदान गर्दछ । ३. आफूलाई मन्त्र दिने, ज्ञान दिने वा उचित मार्गदर्शन गर्ने गुरुतुल्य व्यक्तिलाई दिनैपिच्छे प्रातः कालमा स्मरण गर्ने गरेमा पनि पितृदोष शान्त हुन्छ । गुरुतुल्य कुनै पनि व्यक्तिसित सम्बन्ध बिगार्नु हुँदैन । ४. कुनै धार्मिक वा परोपकारी काममा दिएको वा दान गरेको धनको सार्वजनिक उद्घोष गराउनु हुँदैन, त्यसैले यस्तो दोष भएका व्यक्तिले गुप्तदान गर्नु पर्दछ । तर अयोग्य र अनुचित ठाउँमा दान गर्नु पनि हुँदैन । ५. प्रत्येक महिनामा पर्ने औंसीका दिन हविष्यान्न भोजन गर्ने, बेलुकाको छाक बार्ने (निशि बार्ने), पितृहरूको तर्पणादि गर्ने गर्नु राम्रो हुन्छ । ६. विहानको भोजनकालमा गाई, कुकुर, काग आदिलाई भोजनादि (गोग्रास) प्रदान गर्नुपर्दछ । ७. अस्पताल वा वृद्धाश्रममा रहेका अशक्त र कुष्ठादि दीर्घरोगबाट थलिएका रोगीहरूको सेवा गर्नुपर्दछ । परिवारका महिलाहरूको सम्मान गर्नुपर्दछ । ८. प्रत्येक पक्षको त्रयोदशीका दिन पर्ने प्रदोषको व्रत लिने, शिवजीको पूजा गर्ने र पितृहरूसँग क्षमायाचना गर्ने बानी बसाल्नु पर्दछ । ९. दिनैपिच्छे समय मिलाएर श्रीमद्भागवतको एकादश स्कन्ध, गीताको नवौं अध्याय वा महाभारतको शान्तिपर्वको मूल संस्कृत पाठ नियमित रूपमा गरेमा पनि पितृदोषको निवारण हुन्छ । १०. अलिक जटिल खालकै समस्या हुँदा वैष्णवष्टि यज्ञ (पितृष्टि) गर्नुपर्छ। यस्ता कर्महरू श्रद्धापूर्वक गर्दा पितृदोष भने निवारण हुन्छन् ।

Author

नेपालमा गुरुकुलमा रहि संस्कृत तथा अध्यात्म क्षेत्रमा प्रारम्भिक अध्ययन पश्चात् वृन्दावन धाममा १८...

Latest Post